काँग्रेसपछि एमालेले पनि फेर्दै मन्त्री, यी हुन् नयाँ अनुहार
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसपछि नेकपा एमालेले पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने भएको छ। काँग्रेसले मुख्यमन्त्रीबाहेक आफ्ना सबै मन्त्री फेरबदल गर्ने तयारी गरिरहँदा एमालेले पनि नयाँ सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो।
एक जना सांसदका अनुसार सोमवार बिहान १० बजेसम्म तलमाथि नभएमा एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकारी ऐर बमलाई मन्त्री बनाउने निर्णय गरेको छ। हाल एमालेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की सरकारमा छन्। यस्तै निर्मला साउँद राज्यमन्त्री छिन्। पुनर्गठनसँगै उनीहरू सरकारबाट बाहिरिनेछन्।
एमालेले नयाँ मन्त्रीहरूको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमवार बिहान १० बजेपछि बुझाउने छ। मुख्यमन्त्री शाहले भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।
काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भएको राजनीतिक समझदारीपछि प्रदेश सरकार पुनर्गठन हुन लागेको हो। संसदीय दलको नेताबाट शाहलाई हटाउन काँग्रेसका नौ सांसदले हस्ताक्षर गरेका थिए। तर सांसद डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद जोगिएको थियो।
त्यसपछि असन्तुष्ट पक्षलाई सरकारमा सहभागी गराउने सहमतिअनुसार कांग्रेसले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। काँग्रेस र एमाले दुवै दलले मन्त्री परिवर्तन गर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री नयाँ हुने भएका छन्।