स्वदेशी उद्योग संरक्षण गर्न कर पुनर्संरचना : अर्थमन्त्री वाग्ले
काठमाण्डाै: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले ’पोलिसी कब्जा’ र ‘म्याक्रो सिन्डिकेट’ हरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको जानकारी दिए। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने बताए।
अर्थमन्त्री वाग्लेका अनुसार अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुनेछ। नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम व्यक्तिहरू आउने र राजनीतिक संयन्त्र तथा आर्थिक संरचना भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको उनको दाबी छ। निजी क्षेत्र आफ्नो पूँजी र क्षमताका आधारमा अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने उनले बताए।
नागरिक एप जस्ता डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताउँदै अर्थमन्त्रीले सरकारी कार्यालय धाउन नपर्ने गरी नागरिक एपमा सयौँ सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको जानकारी दिए।