सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसका नयाँ मन्त्रीको शपथमा सभामुख, एमाले र नेकपा अनुपस्थित

२०८३ जेठ २५, ०९:०१ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसले मन्त्री तथा राज्यमन्त्री हेरफेर गर्दै नियुक्त गरेका नयाँ मन्त्रीहरूले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। तर शपथ ग्रहण समारोहमा सभामुख, सत्ता साझेदार नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अनुपस्थित रहे।

मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत काँग्रेसबाट विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना मगर सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्। यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री तथा जुनाकुमारी दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छन्।

काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने उद्देश्यले मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

तर शपथ ग्रहण समारोहमा सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, सत्ता साझेदार एमालेका मन्त्री तथा सांसदहरू अनुपस्थित रहे। प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरू पनि कार्यक्रममा सहभागी भएनन्।

एमालेभित्र पनि मन्त्री हेरफेरको विषयमा केही दिनदेखि छलफल चलिरहेको थियो। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री परिवर्तनका विषयमा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई निर्देशन दिएको चर्चा सार्वजनिक भएको थियो। सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णय गरेको बताइएको छ।

उक्त निर्णयसँगै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको पद तत्कालका लागि सुरक्षित भएको छ।

मन्त्री फेरबदल नभएको भन्दै एमाले समर्थकहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलविरुद्ध नाराबाजी गर्नुका साथै संसदीय दलको कार्यालयमा तोडफोड गरेका छन्। उनीहरूले पार्टीको प्रदेश कार्यालयमा समेत तालाबन्दी गरेका छन्।

सरकारमा सहभागी एमालेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले काँग्रेसका नयाँ मन्त्रीहरूको शपथ ग्रहणबारे आफूलाई पूर्वजानकारी नदिइएको बताए। जानकारी नपाएकै कारण एमालेका मन्त्रीहरू समारोहमा सहभागी हुन नसकेको उनको भनाइ छ।

यता प्रमुख प्रतिपक्षी नेकपाले पनि शपथ ग्रहण समारोहबारे औपचारिक जानकारी नपाएको जनाएको छ। नेकपा संसदीय दलका नेता खगराज भट्टले सरकारबाट कुनै खबर प्राप्त नभएकाले कार्यक्रममा सहभागी हुन नसकिएको बताए।

शपथ ग्रहण समारोहमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अनुपस्थितिले प्रदेश सरकारभित्रको राजनीतिक समन्वय र सञ्चारबारे प्रश्न उठाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस