सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेको मन्त्री हेरफेर रोकिँदा पार्टीभित्र चर्कियो असन्तोष

२०८३ जेठ २६, १२:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले)को तर्फबाट हुने भनिएको मन्त्री हेरफेर अन्तिम समयमा रोकिएपछि पार्टीभित्र असन्तोष बढ्दै गएको छ। आइतबारदेखि मन्त्री फेरबदलको चर्चा तीव्र बनेको भए पनि अन्तिम घडीमा प्रक्रिया अघि नबढ्दा प्रदेश नेतृत्वदेखि कार्यकर्तासम्ममा अड्कलबाजी र असन्तुष्टि चुलिएको हो।

पार्टी स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको तहबाट नयाँ मन्त्रीहरूको नाम र जिम्मेवारीबारे सहमति जुटिसकेको थियो। प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सोहीअनुसार आवश्यक तयारीसमेत अघि बढाएका थिए। तर अन्तिम समयमा निर्णय कार्यान्वयन हुन नसक्दा प्रदेश नेतृत्व र कार्यकर्तामाझ असन्तोष चुलिएको बताइन्छ।

एमालेका केही नेताहरूले मन्त्री हेरफेर रोकिनुको मुख्य कारण महासचिव शंकर पोखरेल पक्षको असन्तुष्टि रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार अध्यक्ष ओली र उनको सचिवालयसम्म पुगेर महासचिव पोखरेलले मन्त्री परिवर्तन तत्काल नगर्न दबाब सिर्जना गरेपछि प्रक्रिया रोकिएको हो। यद्यपि नेकपा (एमाले)ले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

यसअघि सन्तोष थापा शर्मालाई भौतिक पूर्वाधार विकासमन्त्री, जानकी ऐर बमलाई राज्यमन्त्री, चक्र मल्ललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाउने तयारी गरिएको थियो। त्यस्तै, हालका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाललाई प्रमुख सचेतक तथा राज्यमन्त्री निर्मला साउदलाई संसदीय दलको उपनेताको जिम्मेवारी दिने समझदारीसमेत बनेको चर्चा थियो।

तर अन्तिम समयमा निर्णय रोकिएपछि प्रदेशस्तरका नेताहरूको एउटा समूह खुला रूपमा असन्तुष्ट बनेको छ। सोमबार संसदीय दलको कार्यालयमै कार्यकर्ता तथा समर्थकहरूले रावलविरुद्ध नाराबाजी गर्नुका साथै दलको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।

एमाले संसदीय दल र पार्टीका संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यशैली बारे असन्तुष्टि प्रकट हुँदै आएको छ। नेतृत्व र निर्णय प्रक्रियालाई लिएर रावलको आलोचना हुँदै आएको छ।      यो पटक सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर गर्ने विषयमा अध्यक्ष तहबाट सहमति जुटिसकेको भनिएको निर्णयसमेत अन्तिम समयमा रोकिँदा धेरै नेताहरूले यसको राजनीतिक जिम्मेवारी महासचिव पोखरेलतर्फ सोझिएको टिप्पणी गर्न थालेका छन्।

कमेन्ट लोड गर्नुस