टेम्पो धनी धामी दम्पतीले भने, "सहमति गर्दैनौँ, दोषीलाई कारबाही हुनुपर्छ।"
धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भीरबाट धकेलेर खसालेको घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्वसाधारणदेखि सांसदहरुसम्मले वन कर्मचारीको व्यवहारप्रति प्रश्न उठाएका छन्।
शनिबार भएको उक्त घटनामा बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएका हुन्। धामीले घर नजिकै भीमदत्त राजमार्गअन्तर्गत गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा चिया, अण्डा, चाउचाउ, पानीलगायतका सामान राखेर बिक्री गर्दै आएकी थिइन्।
धामीका अनुसार वन कर्मचारीले वन क्षेत्र अतिक्रमण गरेको आरोप लगाउँदै टेम्पो हटाउन खोजेका थिए। टेम्पो घर लैजाने र अबदेखि त्यहाँ व्यापार नगर्ने भन्दै आग्रह गरे पनि कर्मचारीले नसुनेको उनको गुनासो छ।
‘मैले टेम्पो घर लैजान्छु, अबदेखि यहाँ सामान बेच्न आउँदिन भनेर बिन्ती गर्दा पनि कसैले सुन्न चाहेनन्,’ धामीले भनिन्, ‘वन कर्मचारीहरुले टेम्पो भीरबाट खसाले। मैले गरेको अनुनयविनय उनीहरूले सुन्दै सुनेन्, उल्टै मलाई धकेलेर टेम्पो भीरबाट खसाले। वरिपरि जम्मा भएकाहरुले पनि वन कर्मचारीहरूलाई त्यो नगर्न भनेनन्।’
टेम्पो भीरबाट खसाल्नुअघि वन कर्मचारीले त्यसमा राखिएका सामान झारेका थिए। घटनापछि धामीले आफ्नो १० जनाको परिवारको जीविकोपार्जनको आधार नै गुमेको बताएकी छन्। उनका अनुसार उक्त टेम्पो एक वर्षअघि अहिले भारतको बंगलोरमा मजदुरी गरिरहेका जेठो छोराले किनिदिएका थिए। ‘अहिले मेरा तीनै छोरा बंगलोरमा छन्। घरमा म, जेठी बुहारी र श्रीमान् मात्र छौँ,’ उनले भनिन्, हामीले वन अतिक्रमण गरेको होइन, घरबाट बिहान लगेर साँझ ल्याउने गरेका थियौँ। टेम्पो लैजान र ल्याउन छिमेकीको सहयोग माग्नेकी थिएँ। टेम्पोमा हुने आम्दानीले नै घर खर्च चलाउने गरेकी थिएँ।’
धामीले आफूलाई टेम्पो चलाउन नआउने र त्यसलाई व्यवसाय सञ्चालनका लागि मात्रै प्रयोग गर्दै आएको बताइन्। कहिलेकाहीँ टेम्पो त्यहीँ छाडेर घर फर्किने र कहिलेकाहीँ छिमेकीको सहयोगमा घरसम्म ल्याउने गरेको उनको भनाइ छ।
यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानअन्तर्गत टेम्पो हटाइएको दाबी गरेको छ। डिभिजन वन कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको जानकारी दिए। उनले टेम्पो कवाडी र काम नलाग्ने भएको बताएका थिए।
डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीको गोदावरी क्षेत्रमा मात्रै अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकिएको छ। तर, टेम्पो भीरबाट खसाल्नुको सट्टा नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन सकिने विकल्प हुँदाहुँदै वन कर्मचारीले बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।
डिभिजन वन कार्यालय धनगढीले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गर्दै आफ्नो बचाउ गरेको छ। डिभिजन वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जानीजानी भीरबाट नखसालिएको जनाएको छ।
धनादेवीका पति घनश्याम धामीले आफूहरूलाई अहिले आएर वन मन्त्रालयमा सहमति गर्न आग्रह गरिएको बताए। उनले क्षतिपूर्ति भन्दा पनि दोषीलाई कारबाही गर्नुपर्ने बताए। यस्तै, धानादेवीले पनि सहमति गर्नुभन्दा अगाडि टेम्पो फाल्ने वन अधिकारीलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेकी छन्। उनले घर लैजान्छु भन्दाभन्दै पनि टेम्पो फाल्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र त्यसपछि सहमति गर्न सकिने बताइन्।