सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेम्पो भीरमा खसालिएको घटना: सोधपुछका लागि १० वन कर्मचारी प्रहरी नियन्त्रणमा

२०८३ जेठ ३१, ०६:०५ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।

शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो। घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका १० जना कर्मचारीलाई नियन्त्रणमा लिएर बयान लिइरहेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

उक्त घटनामा गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएको आरोप लगाएकी छन्। उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दै आग्रह गर्दा पनि कर्मचारीले नसुनी टेम्पो भीरमा खसालेको बताएकी थिइन्।

यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई पन्छाउन खोज्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश भीरमा खसेको दाबी गरेको छ।

घटनापछि वन कर्मचारीको कार्यशैलीमाथि सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठिरहेको छ भने पीडितलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत भइरहेको छ।

कमेन्ट लोड गर्नुस