बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत
केशवराज भट्ट
वासुलिङ बैतडी: मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् तथा त्यसबाट हुने क्षति न्यूनीकरणलाई लक्षित गर्दै बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले समितिद्वारा तयार पारिएको उक्त योजना अनुमोदन गरेको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार योजनामा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद्को समयमा सञ्चालन गरिने प्रतिकार्य तथा विपद्पश्चात् गरिने उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कार्यलाई समेटिएको छ।
बैठकमा मनसुनका बेला उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी त्यहाँ बसोवास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सम्बन्धित निकायबिच समन्वयलाई प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ ।त्यसैगरी, वर्षायाममा अवरुद्ध हुन सक्ने प्रमुख राजमार्ग तथा सडक सञ्जाललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो।
विपद्को अवस्थामा सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थालाई आवश्यक स्थानमा तत्काल परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बैतडीमा सम्भावित प्रभावित समुदायको पहिचान गरी आवश्यक पूर्वतयारी र सुरक्षाका उपाय अवलम्बन गर्न स्थानीय तहलाई विशेष आग्रह गरिएको जनाइएको छ।
मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले योजना कार्यान्वयनमा सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। (गाेरखा पत्र)