भैंसी खोज्न हिँडेका बैतडीका महरा मृत फेला
बैतडीः बैतडीको पाटन नगरपालिका–८ का ६८ वर्षीय जयसिंह महराको शव फेला परेको छ।
चार दिनअघि भैँसी खोज्ने क्रममा घरबाट निस्किएका महरा आइतवार मृत फेला परेका हुन्। महरा सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।
खोजीका क्रममा उनको शव पाटन नगरपालिका–२ स्थित थडकुडाको बाटो नजिकै भिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
प्रहरीका अनुसार महरा गाउँकै आफन्तसँग भैँसी खरिदका लागि गएका थिए। भैँसी खरिद प्रक्रिया पूरा भएपछि उनी 'म घरतिर जान्छु' भन्दै छुट्टिएका थिए। त्यसपछि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
लगातार तीन दिनसम्म सम्पर्कमा नआएपछि स्थानीयवासी, आफन्त र प्रहरीको सक्रियतामा खोजी अभियान सञ्चालन गरिएको थियो।
आइतबार खोजीका क्रममा उनको शव थडकुडाको भिर नजिकै फेला परेको हो।
घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।