‘आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्’ : प्रधानमन्त्री शाहलाई विश्वप्रकाश शर्माको आग्रह
काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा दिने अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा संयम अपनाउन लगाउन आग्रह गरेका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति दिएपछि शर्माले त्यसप्रति आपत्ति जनाएका हुन्।
आइतबार नागढुंगा–मुग्लिन सडकखण्डको निरीक्षणका क्रममा स्थानीयले विद्युत् पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको गुनासो गरेपछि मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे खुट्टा भाँचिदिनसमेत निर्देशन दिएका थिए।
उक्त घटनालाई लिएर प्रतिक्रिया दिँदै शर्माले पछिल्लो समय विभिन्न सार्वजनिक पदाधिकारीबाट आउने आक्रामक अभिव्यक्तिले समाज गलत दिशातर्फ जान सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले कैलालीमा एक महिलाको ट्याम्पो भीरबाट खसालिएको घटना, सिरहामा परीक्षा हलमा भेटिएको मोबाइल नष्ट गरिएको घटना तथा मन्त्रीको पछिल्लो अभिव्यक्तिलाई उदाहरणका रूपमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै शर्माले चुनावी अभियानका क्रममा बाटो निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई रुखमा बाँधेर काम गराउने अभिव्यक्ति स्मरण गराएका छन्। उनले कानुनी शासन र विधिको शासनभन्दा बाहिर गएर दण्ड दिने प्रवृत्तिले समाजलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
‘यदि हामी हिंसात्मक र गैरकानुनी उपायलाई समाधानका रूपमा स्वीकार गर्ने समाजतर्फ जाँदै छैनौँ भने कम्तीमा मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्छ,’ शर्माको भनाइ छ