बाजुरामा जिपको ठक्करबाट बालक घाइते, फरार चालक पक्राउ
धनगढीः बाजुरामा जिपले ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका-७ का २४ वर्षीय गोपाल वलीलाई पक्राउ गरिएको हो। वलीले चलाएको भे १ च ४०८० नम्बरको जिपले बडीमालिका नगरपालिका–७ रजालीका स्थानीय रामबहादुर विकका १४ वर्षीय छोरा दिलिप विकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बालकलाई ठक्कर दिएपछि चालक वली घटनास्थलबाट फरार भएका थिए। घाइते बालकको अवस्था र घटनासम्बन्धी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तीव्र खोजी सुरु गरेको थियो।
प्रहरीको खोजतलासका क्रममा जिपसहित चालकलाई बडीमालिका नगरपालिका–९ स्थित मार्तडी बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार जिपको ठक्करबाट घाइते बालकको टाउको र हातमा चोट लागेको छ। प्रारम्भिक उपचारका लागि उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढी पठाइएको छ।
प्रहरीले पक्राउ परेका चालक वलीमाथि थप अनुसन्धान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।