लाम्पाटामा हेलिकप्टरबाट सशस्त्र प्रहरीका सामग्री ढुवानी
धनगढीः श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपालका बन्दोबस्तीका सामग्री बाजुराको लाम्पाटा क्षेत्रमा पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएका ती सामग्री असार ३ गते बिहान बाजुरा गुल्ममार्फत लाम्पाटा पुर्याइएको सशस्त्र प्रहरीले जनाएको छ।
लाम्पाटा क्षेत्रमा जेठ ३१ गतेदेखि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। पछिल्ला दिनहरूमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएपछि सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन सुरक्षाकर्मी परिचालन गरिएको हो।
यसैबीच, प्रधान कार्यालयको निर्देशनअनुसार नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिग्बिजय सुवेदी लाम्पाटा पुगेका छन्। उनले त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूको कार्यसम्पादनबारे जानकारी लिँदै सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् र आवश्यक निर्देशनसमेत दिएका छन्।
सशस्त्र प्रहरी बलका अनुसार प्रधान कार्यालयबाट परिचालन गरिएको टोलीको अनुगमन, निर्देशन तथा आवश्यक समन्वय पनि प्रधान कार्यालयबाटै गरिनेछ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा उक्त टोली जेठ २७ गतेदेखि लाम्पाटा क्षेत्रमा खटिएको जनाइएको छ।