सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपमा बजेट विवादः 'दलाल–बिचौलिया केन्द्रित बजेट' भन्दै नेकपाको हमला

२०८३ असार ५, ०१:०५ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट यथास्थितिमा पारित हुन नसक्ने स्पष्ट पारेको छ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट ले प्रदेश सरकारले ल्याएको बजेट इतिहासकै कमजोर, अपारदर्शी र जनविरोधी रहेको आरोप लगाए। उनले सरकारले दलाल र विचौलियाको पक्षमा बजेट ल्याएको दाबी गर्दै बजेटलाई ‘दलाल र बिचौलिया केन्द्रित’ भने।

'बजेटमा सामान्य संशोधन गरेर सुधार गर्ने अवस्था छैन। बजेटको सिद्धान्त, नीति र प्राथमिकता विपरीत सरकारले बजेट ल्याएको छ,' उनले भने, 'यो बजेट खारेज गरेर नयाँ बजेट ल्याउनु पर्छ। जनताको आशा र अपेक्षा विरोधी बजेटलाई जसरी भए पनि नेकपाले फेल गर्छ।'

संसदीय दलका नेता भट्टले बजेट पुनर्लेखन गर्ने नभई खारेज नै गर्नुपर्ने बताएका छन्। 'यो बजेटमा सुधार गर्ने ठाउँ नै छैन, टालटुल गरेर सुधार गर्ने अवस्था छैन, बजेटमा ठूलो भ्वाङ परेको छ,’ भट्टले भने।

उनले बजेट मध्यरातमा ल्याइएको उल्लेख गर्दै यसले प्रदेशवासीलाई निराश बनाएको बताए। ‘इतिहासमै पहिलो पटक यति खराब बजेट आएको छ। अहंकारी ढंगले बजेट ल्याइएको छ। सिंगो सुदूरपश्चिम स्तब्ध र आक्रोशित छ,’ उनले आरोप लगाए।

भट्टले प्रदेश सरकारमा रहेका व्यक्तिहरूले भ्रष्टाचार र बेथिति बढाएको दाबी गर्दै यस्तो प्रवृत्तिविरुद्ध सदन र सडक दुवैबाट संघर्ष गर्ने चेतावनी दिए। उनले बजेट संघीय लोकतान्त्रिक गणतन्त्र, सरकारकै नीति तथा कार्यक्रम र प्राथमिकताविपरीत रहेको आरोप पनि लगाए।

उनका अनुसार बजेट सुशासन, पारदर्शिता, समानता तथा दिगो विकासका लक्ष्यविपरीत छ भने कार्यकर्ता र बिचौलियालाई पोस्ने उद्देश्यले तयार गरिएको छ । ‘मुख्यमन्त्री र केही आसेपासेबाहेक कसैको हितमा यो बजेट छैन,’ उनले भने।

भट्टले बजेट निर्माण प्रक्रियामै गम्भीर प्रश्न उठाउँदै विभिन्न मन्त्रालयबाट आउने योजनाहरू मुख्यमन्त्री कार्यालयमा होटल तथा गोप्य स्थानमा ‘सुटकेस बोकेर’ समावेश गरिएको भन्ने गुनासो आएको बताए। उनले एउटै योजना विभिन्न शीर्षकमा दोहोरिएको, मापदण्डविपरीत साना योजना राखिएको तथा एक मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजना अर्को मन्त्रालयमा समावेश गरिएको आरोप लगाए।

उनले संसदमा ३७ अर्ब ६० करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको भए पनि कागजातमा फरक रकम देखिएको दाबी गरे। साथै, २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने भनिए पनि थुप्रै साना योजना समावेश गरिएको बताए।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै २ करोड ५० लाख रुपैयाँभन्दा बढीका योजना राखिएको दाबी गर्दै उनले बजेट वितरणमा गम्भीर पक्षपात गरिएको आरोप लगाए।

पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावल ले पनि बजेट उपयुक्त नभएको भन्दै बजेट प्रस्तुतिकरणकै क्रममा आफूहरूले बहिष्कार गरेको जानकारी दिए । उनले सरकारले अपूर्ण बजेट ल्याएर ‘झारो टार्ने’ काम गरेको आरोप लगाए ।

नेकपाले प्रदेश सभाका सबै सदस्यलाई बजेट असफल बनाउन आग्रह गर्दै यथास्थितिमा बजेट पारित हुन नदिने स्पष्ट चेतावनी दिएको छ ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस