सुदूर नेपाललाई विश्वसँग जोड्दै

छत्तीसगढमा भाजपा नेता सहित तीन जनालाई जिउँदै जलाइयो

२०८३ असार ५, ०२:५६ खबर संवाददाता

काठमाडौं: भारतको छत्तीसगढ राज्यको कोरिया जिल्लामा अवैध बालुवा उत्खननलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि तीन जनाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ भने अन्य पाँच फरार अभियुक्तको खोजी जारी रहेको जनाएको छ।

कोरियाका अतिरिक्त प्रहरी उपरीक्षक सुरेश चौबेका अनुसार प्रारम्भिक अनुसन्धानले दुई पक्षबीच विगत धेरै वर्षदेखि वर्चस्वको विषयलाई लिएर विवाद रहँदै आएको देखाएको छ।

घटना सोनहट प्रहरी चौकी अन्तर्गतको नवगाई क्षेत्रमा भएको हो। अवैध बालुवा उत्खननको विषयमा उत्पन्न विवादका क्रममा भाजपा नेता तथा पूर्व जिल्ला पञ्चायत अध्यक्ष भरत सिंह गहरवार सवार गाडीमा पेट्रोल छर्केर आगो लगाइएको थियो। उक्त घटनामा गहरवारसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले गाडीको अगाडि र पछाडि डम्प ट्रक तेर्स्याएर बाटो रोकेका थिए। गाडीमा रहेका व्यक्तिहरू बाहिर निस्कन नपाउँदै पेट्रोल छर्केर आगो लगाइएको थियो।

यस घटनामा संलग्न रहेको आरोपमा मनोज त्रिपाठी, अक्षत त्रिपाठी, विशाल त्रिपाठी र सत्यप्रकाश त्रिपाठीलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

न्युज क्रेडिट: Times Now

कमेन्ट लोड गर्नुस