सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरी–बुहारीलाई छात्रवृत्ति, दलित छात्रालाई साइकल

२०८३ असार ५, ०९:०४ रासस

महेन्द्रनगरः भीमदत्त नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरेको छ भने विद्यालय जान सहजताका लागि दलित छात्राहरूलाई साइकल वितरण गरेको छ।

नगरपालिकाले आर्थिक अभावका कारण कोही पनि छोरीबुहारीहरू उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यविधि बनाएर छात्रवृत्ति प्रदान गर्नुका साथै अन्य आवश्यक सहयोग प्रदान गर्दै आएको छ। 

यस्तै, शिक्षामा पहुँच अभिवृद्धि गर्दै विद्यालय छोड्ने दर न्यूनीकरणका लागि दलित समुदायका छात्राहरूलाई साइकल वितरण गरेको छ। नगरपालिकाले शुक्रबार ३७ जना दलित छात्रालाई आज साइकल हस्तान्तरण गरेको हो । आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका छात्राहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले साइकल हस्तान्तरण गरिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले जानकारी दिए।

'शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार हो', उनले भने, 'भौगोलिक दूरी, आर्थिक अवस्था तथा यातायातको अभावका कारण धेरै छात्राहरूले अध्ययनमा कठिनाइ भोग्नुपरेकाले कलेजसम्म नियमित रूपमा पुग्न सहयोग पुग्ने अपेक्षाले साइकल हस्तान्तरण गरेका हौँ।'

साइकल प्राप्त गरेका छात्राहरूले पालिकाको सहयोगले विद्यालय आवतजावतमा सहज हुने बताएका छन्। त्यसैगरी, उच्च शिक्षा हासिल गर्न चाहने छोरी तथा बुहारीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ।

उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुर्याउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिए। उनका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने भीमदत्त नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ। 'यो शैक्षिकसत्रका लागि पालिकाले सूचना आह्वान गरेको छ', उनले भने, “गत वर्ष एमबिबिएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने कोही विद्यार्थी सम्पर्कमा आएनन्।'

शिक्षा शाखाका अनुसार छोरीबुहारीहरू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमबाट  हालसम्म पाँच जनाले अध्ययन गरिरहेका छन्। आर्थिक वर्ष २०७९/८० मा तीन जना छोरीबुहारीले छावृत्तिबाट साधारण धारतर्फका विषयमा अध्ययन गरेका छन्। त्यसैगरी, आव २०८०/८१ मा दुई जनाले उक्त छात्रवृत्तिबाट अध्ययन गरिरहेका छन्।

चालु शैक्षिकसत्रका लागि पनि पालिकाले १० लाख बजेट विनियोजन गरेको छ। एमबिबिएस अध्ययन गर्ने दुई जनालाई प्रतिव्यक्ति दुई लाख, इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई एक लाख र अन्य विषय अध्ययन गर्ने छ जनालाई ५० हजार हरेक आर्थिक वर्षमा छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस