सुदूर नेपाललाई विश्वसँग जोड्दै

तत्कालीन डिआइजी रानाले गरेकाे ४४४ प्रहरीको काज सरूवा बदर

२०८३ असार ६, ०३:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमबहादुर रानाले अस्वभाविक रूपमा गरेको काज सरुवाको निर्णय बदर भएको छ। प्रहरीभित्र विचौलियामार्फत आर्थिक असुली गर्दै काज सरुवा गरिएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ती निर्णय कार्यान्वयन नगर्न भनिएको हो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा मापदण्ड विपरीत गरिएको काज सरूवा बदर भएको सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले जानकारी दिए। उनले अस्वभाविक काज सरुवा भएको पाइएकाले प्रदेश प्रहरी कार्यालयलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको बताए। उनले डीआईजी रानाले गरेको काज सरुवाबारे आन्तरिक छानबिनसमेत हुने जानकारी दिए।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रदेशका वर्तमान प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले अस्वभाविक रूपमा गरिएको काज सरुवाको निर्णय बदर गरेका छन्। उनले शुक्रबार नै प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई डिआइजी राना सरुवा भएपछि गरिएका काज सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।

भट्टराईले २९ जेठपछि काज सरुवा गरिएका कुनै पनि प्रहरी कर्मचारीलाई रमना नदिन मौखिक आदेश दिइसकेको र लिखित सर्कुलरसमेत जारी गरिने बताएका छन्। 'अस्वभाविक रूपमा गरिएको काज सरुवा कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई मौखिक आदेश भइसकेको छ, लिखित सर्कुलर पनि गरिन्छ,' उनले भने।

२७ असोज २०८१ मा सुदूरपश्चिम प्रदेशको प्रमुख भएर आएका डिआइजी रानाको प्रहरी प्रधान कार्यालयले २९ जेठमा सरुवा गरेपछि उनले जवानदेखि वरिष्ठ सईसम्मका ४४४ जनाको काज सरुवा गरेका थिए।

कमेन्ट लोड गर्नुस