सुदूर नेपाललाई विश्वसँग जोड्दै

पासपोर्ट खरिद : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो

२०८३ असार ८, ०५:१७ खबर संवाददाता

काठमाडौं: पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ ।

अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ। विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो ।

विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार, अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।

उनका अनुसार, २ कम्पनीका ४ विदेशी नागरिक र दुई कम्पनीका नेपाली प्रतिनिधिसहित प्रतिवादी रहेका छन् ।

प्रतिवादीमध्ये १० जना कर्मचारी छन्। मुद्दा दर्ता हुने प्रक्रियामा छ ।

राहदानी छपाइमा भएको अनियमितताको विषयमा सोधपुछ गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बोलाएको थियो ।

तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो ।

कमेन्ट लोड गर्नुस