सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा प्रवेशसँगै अध्यक्षसहित ३ जनप्रतिनिधिको पद गयो

२०८३ असार ९, ०२:२१ खबर संवाददाता

काठमाडौँः राजनीतिक दल परिवर्तनको निर्णयले जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले मंगलबार जारी गरेको सूचनामा दल त्याग (फ्लोर क्रसिङ) सम्बन्धी कानुनी व्यवस्थाअनुसार बुढासहित अन्य दुई स्थानीय जनप्रतिनिधिहरू पनि पदमुक्त भएको उल्लेख छ। आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ तथा नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरूको पद स्वतः रिक्त भएको हो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका बुढा रास्वपामा प्रवेश गरेपछि कानुनी प्रक्रिया सक्रिय भई पद गुमाएका हुन्। यससँगै राजनीतिक दल परिवर्तन गर्दा निर्वाचित पदसमेत गुम्ने कानुनी व्यवस्था पुनः चर्चामा आएको छ।

आयोगको सूचनाअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन्। उनीहरू पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

दल त्यागसम्बन्धी व्यवस्थाअनुसार सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराएपछि यस्तो कारबाही लागू हुने प्रावधान रहेको छ। यस घटनाले स्थानीय तहमा दल परिवर्तनको राजनीतिक अभ्यास र त्यसको कानुनी असरबारे पुनः बहस चर्काएको छ।

कमेन्ट लोड गर्नुस