रास्वपा केन्द्रीय समितिमा शाह सचिवालयका तीन उम्मेदवार
चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ।
प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएको हुन्। शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ। उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए। शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन्।
प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय छन्। वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगाईंले जानकारी दिए। सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रुपमा चिनिन्छन्।
उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए। उनले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खलेका थिए। महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उनको योगदान उल्लेखनीय थियो। ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए। वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खलेका थिए। यही कारणले पनि उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन्।
प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छिन्। ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छिन्।
उनी हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन्। उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी छिन्।