माया ओ माया!
२५ वर्षअघि म मामाघर जाँदा बाटोमा एउटा घर पर्थ्यो। घरको छेउमै चिसो र मीठो पानीको पँधेरो थियो। त्यही पँधेरोमा पानी पिउन झुकेका बेला पहिलो पटक मैले उनलाई देखेको थिएँ।
उनी मेरै उमेरकी जस्ती देखिन्थिन्। गहुँगोरो वर्ण, डल्ले जिउडाल, कालो लामो कपाल, ठूला आँखा र ओठमा हल्का मुस्कान। पहिलो नजरमै मेरो मुटुको ढुकढुकी अस्वाभाविक रूपमा बढेको थियो। उनको मुस्कानसँगै चम्किएका दाँत अनारका दानाजस्तै मिलेर बसेका थिए। अनुहार यति उज्यालो थियो कि पूर्णिमाको जुन फिक्का लाग्ने।
हाम्रो आँखा केही क्षण जुध्यो। त्यसपछि उनी मुस्कुराउँदै घरतिर लागिन् र म मामाघरतिर।
बाटोभरि मेरो मनमा एउटै प्रश्न घुमिरह्यो—उनी को हुन्?
त्यो घरका मानिसहरूलाई म अनुहारले चिन्दथेँ, तर उनलाई पहिले कहिल्यै देखेको थिइनँ। त्यसैले मनले अनुमान गर्यो—सायद उनी पाहुना होलिन्।
साँझ माइजूले भान्जा आएको खुसीमा सेलरोटी पकाउनुभयो। तर सेलरोटीको स्वादभन्दा पनि मेरो मनमा उनको अनुहारको छाप गहिरो थियो। को होलिन्? के नाम होला? कुन कक्षामा पढ्छिन्? मभन्दा जेठी कि कान्छी?
त्यही सोच्दै राति निदाएँ।
त्यो रात मैले एउटा अनौठो सपना देखेँ।
सपनामा म एउटा चौतारोमा थिएँ। उनी त्यहीँ आइन्। पँधेरोमा देखिएको जस्तै मुस्कुराइन्। मैले हिम्मत गरेर नाम सोधेँ।
'माया,' उनले छोटो उत्तर दिइन्।
मलाई त्यो नाम उनको अनुहारसँग ठ्याक्कै मिलेको लाग्यो।
त्यसपछि उनले आफ्नो बारेमा बताइन्। उनी मामाघर आएकी रहेछिन्। म जस्तै कक्षा ८ मा पढ्ने, अर्को वर्ष मामाघरमै बसेर हाम्रो विद्यालयमा पढ्ने योजना बनाएको कुरा सुनाइन्। हामी धेरै बेरसम्म गाउँका डाँडा, खोल्सा, खेत र बजारका नामबारे कुरा गरिरह्यौँ।
अन्त्यमा मैले भनेँ, “ऐंसेलु खान जाऔँ?”
उनले मुस्कुराउँदै “हुन्छ” भनिन्।
म चौतारोबाट उठ्न खोज्दै थिएँ कि अचानक झल्यास्स बिउँझिएँ।
...
बिहान उठ्दा सूर्यको किरणले मामाघरको आँगन छुन लागेको थियो। ओछ्यानमै एक पल्ट रातिको सपना चलचित्र झै घुम्यो; मुसुक्क मुस्कुराएर बिहानको नित्यकर्म गर्नतिर लागेँ।
सोही दिन घर फर्किने बेला मनभरि एउटै चाहना थियो—एकपटक फेरि उनलाई देख्न अनि सपनामा झै कुराकानी गर्न पाए हुन्थ्यो।
र संयोगले, मैले उनलाई फेरि देखेँ।
पँधेरोभन्दा अलि माथि उनी एउटा सानो केटासँग बाख्रा चराइरहेकी थिइन्। मलाई देख्दा उनी पनि केही क्षण चुप लागिन्। मैले बोल्ने बहाना खोज्दै केटासँग बाख्राको कुरा गरेँ। अन्ततः थाहा पाएँ—उनको नाम साँच्चै माया रहेछ।
त्यो क्षण मेरो शरीरभरि एक अनौठो रोमाञ्च फैलियो।
नाम पनि सपनाकै जस्तो।
कक्षा पनि सपनाकै जस्तो।
संयोग यति धेरै मिल्दा म आफैँ अचम्ममा परेँ।
हामीले छोटो कुराकानी गर्यौँ। उनले अर्को वर्ष हाम्रो विद्यालयमा भर्ना हुने कुरा सुनाइन्। मामाघरका हजुरबुवा हजुरआमाले उनलाई यतै लालनपालन गर्ने र पढाउने निधो गरेका रहेछन्।
छुट्टिने बेला मैले भनेँ—
“अर्को वर्ष हाम्रो विद्यालयमा स्वागत छ।”
उनले मुस्कुराउँदै धन्यवाद भनिन्।
त्यो मुस्कान बोकेर म घर फर्किएँ।
...
त्यसपछि सुरु भयो प्रतीक्षाको समय।
आजको जस्तो मोबाइल, फेसबुक वा इन्स्टाग्रामको जमाना थिएन। सम्झनालाई सम्झनामै जोगाएर राख्नु र समय कुर्नु बाहेक अर्को उपाय थिएन। कक्षा ८ का बाँकी ६ महिना मलाई ६ वर्षजस्तै लामो लागे।
र अन्ततः त्यो दिन आयो।
कक्षा ९ मा भर्ना हुने दिन।
त्यो दिन म विद्यालय सबैभन्दा पहिले पुगेँ। मनमा एउटै उत्साह थियो—मायालाई स्वागत गर्ने।
तर उनी पहिलो दिन आइनन्।
दोस्रो दिन भने मभन्दा अगाडि विद्यालय पुगिसकेकी रहिछिन्। उनको अनुहारमा नयाँ ठाउँको संकोच थियो, तर मलाई देख्नेबित्तिकै त्यो संकोच हरायो।
“हाम्रो विद्यालयमा स्वागत छ, माया,” मैले भनेँ।
“धन्यवाद,” उनले मुस्कुराउँदै उत्तर दिइन्।
त्यही दिनदेखि मेरो संसार विस्तारै बदलिन थाल्यो।
...
वर्षहरू बित्दै गए।
हामी एउटै कक्षामा पढ्यौँ। पुस्तक साट्यौँ। गृहकार्यमा सहयोग गर्यौँ। विद्यालयका कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधिमा सँगै सहभागी भयौँ।
हामीबीचको सम्बन्ध मित्रताभन्दा गहिरो हुँदै गयो, तर प्रेमको नाम कसैले लिएनौँ।
कक्षा १० को अन्तिममा सबैले अटो डायरी लेख्ने परम्परा थियो। मैले मेरो डायरी सबैभन्दा अन्त्यमा उनलाई लेख्न दिएँ। त्यसको कारण उनले लेखेको कुरा अरू साथीले नहेरून, नदेखुन भन्ने थियो।
उनले मेरो डायरीका चार पानामा आफ्ना मनका शब्द उतारिन। उनले लेखेका हरफमा जीवनको मार्गदर्शन थियो। उनले रचेका सायरीमा जीवनको संगीत भरिएको थियो।
मैले त्यो डायरी यति जनतले राखेकी अहिलेसम्म त्यो सुरक्षीत नै छ।
तर, उनले र मैले दुई वर्ष लामो संगतमा कहिल्यै पनि "म तिमीलाई माया गर्छु" भन्ने शब्द निकालेनौँ। यथार्थमा हामी एकअर्कालाई निकै ख्याल गर्थ्यौँ।
म तिमीलाई माया गर्छु नभन्नुको पछाडि
सायद त्यो उमेरको संकोचले काम गरेको थियो कि?
या एकअर्कालाई गुमाउने डरले काम गरेको थियो, हामीले सङ्गै स्कुक आउँदा जाँदा थुप्रै कुराकानी गर्यौँ। एकअर्काको पढाइको विषयमा चिन्ता र चासो राख्यौँ।
लाग्छ, हाम्रो आदर्श मित्रतामा आशक्तिले हामीलाई कमजोर बनाउन सकेन।
...
कक्षा १० पछि म उच्च शिक्षाका लागि धनगढी गएँ। माया गाउँमै बसिन्। दैनिकी हुने भेटघाट अब सम्झनामै सिमित हुन पुग्यो। समयले हामीबीच दूरी बढायो।
तर मनको दूरी कहिल्यै बढेन।
मैले रेडियो नेपालमा उनका लागि गीत फर्माइस गर्थेँ। उनले पनि कहिलेकाही रेडियो नेपालमा पत्र पठाउँदै गीत फर्माइस गर्थिन्।
दसैँ र हिउँदे बिदामा घर गएको बेला उनीसँग भेट हुन्थ्यो। दसैँमा हुने भेटमा मैले पोस्ट कार्डमा शुभकामना लेखेर दिन्थेँ। उनी कृतज्ञता जनाउन मुस्कुराउँदै उक्त पोस्ट कार्ड जतनले राख्थिन्।
दुई वर्ष रेडियो नेपालका गीत सुन्दै मायाको सम्झना हराउँदै बितेको पत्तै भएन।
कक्षा १२ को वार्षिक परीक्षा दिएर घर गएको बेला एक दिन मैले उनलाई त्यही पुरानो चौतारोमा बोलाएँ, जहाँ मैले उनलाई पहिलो पटक सपनामा भेटेको थिएँ।
साँझको घाम डाँडामाथि अड्किएको थियो।
मैले काँपिरहेको स्वरमा भनेँ—
'माया, एउटा कुरा धेरै वर्षदेखि मनमा छ।'
उनी मुस्कुराइन्।
'मलाई थाहा छ, प्रेम।'
त्यो सुन्नासाथ मैले संसार जितेजस्तो महसुस गरेँ।
तर अर्को क्षण उनले भनिन्—
'तर अब ढिलो भइसक्यो साथी।'
त्यसपछि उनले आफ्नो विवाह तय भइसकेको खबर सुनाइन्।
मभित्र ज्वारभाटा उर्लियो। आँखाबाट बर्सादमा मुल फुटे झै आँसु झर्न थाले।
उनको आँखा पनि रसाए,
निकैबेर हामी मौन बस्यौँ।
अन्ततः उनले एउटा प्रश्न सोधिन्—
'तिमीले पहिले किन भनेनौ?'
मैले उत्तर दिएँ—
'तिमीलाई गुमाउने डरले।'
उनी हल्का मुस्कुराइन्।
त्यो मुस्कानमा गहिरो पीडा थियो।
'नभनेर पनि त गुमाइयौ नि, प्रेम।'
त्यो वाक्य आजसम्म मेरो हृदयमा कुँदिएको छ।
...
उनको विवाह भयो।
म टाढाबाट हेरेर बसिरहेँ।
रातो पहिरनमा उनी अत्यन्त सुन्दर देखिएकी थिइन्। तर त्यो सुन्दरतामा मेरो कुनै अधिकार थिएन।
डोली मोड काटेर आँखाबाट ओझेल परेपछि मात्रै मैले बुझेँ—कहिलेकाहीँ प्रेम हार्दैन, समयसँग पराजित हुन्छ।
आज २५ वर्षपछि पनि जब कुनै चिसो पँधेरो देख्छु, मलाई उनै आँखा सम्झना आउँछन्।
मलाई अझै लाग्छ—
संसारका सबैभन्दा सुन्दर प्रेमकथाहरू मिलनमा होइन, सम्झनामा बाँच्छन्।
किनकि माया मेरी हुन सकिनन्,
र, मेरो मनबाट कहिल्यै टाढा पनि गइनन्।