खुटिया–दिपायल द्रुतमार्ग शीघ्र सम्पन्न गराउन डोटीमा हस्ताक्षर अभियान सुरु
धनगढीः खुटिया–दिपायल द्रुतमार्ग निर्माण कार्य शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने उद्देश्यले डोटीमा हस्ताक्षर अभियान सुरु गरिएको छ। शैलेश्वरी भगवती मन्दिरमा असार १५ गतेदेखि सुरू भएको हस्ताक्षर अभियानमा दुई दिनमा पाँच सय जनाले हस्ताक्षर गरेको मन्दिरका पुजारी प्रेमसागर भट्टले बताए।
शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका भट्टले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले दिएको सल्लाहअनुसार सरकारलाई दबाब दिन हस्ताक्षर अभियाना सुरू गरेको बताए। 'खुटिया–दिपायल द्रुतमार्ग डोटी मात्र नभई सुदूरपश्चिमका अन्य जिल्लाका नागरिकका लागि पनि अत्यन्त महत्वपूर्ण सडक हो। यो सडक निर्माण गर्न सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सुरू भएको हो,' उनले भने, 'धनगढीका मेयर गोपाल हमालले प्रेरित गर्दा हस्ताक्षर संकलन गर्न थालेका हौँ, दुई दिनमा पाँच सयभन्दा बढीले हस्ताक्षर गरेका छन्।'
अध्यक्ष भट्टले द्रुतमार्ग निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय बासिन्दा, यात्रु, व्यवसायी तथा समग्र क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा प्रत्यक्ष असर परेको बताउँदै सडक निर्माण गर्न ध्यानाकर्षण गराउने उदेश्यले अभियान थालेको बताए। उनले भने,'सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको हो। मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरूले यहाँ राखिएको रजिस्टरमा हस्ताक्षर गर्ने व्यवस्था मिलाएका छौँ।'
उने अभियानलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी, विभिन्न संघ–संस्था तथा आम नागरिकले आ–आफ्नो स्थानबाट सक्रिय सहयोग गर्नुपर्ने बताएका छन्। विकासका साझा मुद्दामा सबै एकजुट हुनुपर्ने बताउँदै हस्ताक्षर अभियानमार्फत सरकारको ध्यानाकर्षण गराउने उदेश्य रहेको बताए।
समितिका अनुसार अभियानबाट संकलित हस्ताक्षर सम्बन्धित सरकारी निकायलाई बुझाइनेछ। हस्ताक्षर अभियानमार्फत द्रुतमार्ग निर्माणको कामले गति लिने विश्वास गरिएको छ।