एमाले पार्टी कार्यालयमा वडाध्यक्ष देवकोटामाथि कुटपिट प्रकरण मिलापत्रमा टुङ्गियो
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि भएको कुटपिट प्रकरण मिलापत्रमा टुंगिएको छ। करिब चार वर्षअघि २०८० साउन अन्तिमतिर नेकपा एमाले पार्टी कार्यालय कञ्चनपुरमा भएको कुटपिट घटनासम्बन्धी मुद्दा अदालतसम्म पुगेपछि दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको हो।
त्यतिबेला पार्टीका जिल्ला सदस्यसमेत रहेका देवकोटामाथि युवा संघ नेपाल कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनका क्रममा कुटपिट भएको थियो। झण्डै चार वर्षपछि उक्त मुद्दा दुवै पक्षको सहमतिमा टुंगिएको उनीहरूले जनाएका छन्।
वडाध्यक्ष देवकोटाले आफूमाथि ज्यानै लिने नियतले कुटपिट गरेको आरोपसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेका थिए। मिलापत्रअनुसार प्रतिवादी पक्षले उपचारमा लागेको खर्चस्वरूप साढे तीन लाख रुपैयाँ प्रदान गरेको बताइएको छ।
कुटपिटपछि देवकोटाको उपचार महाकाली प्रादेशिक अस्पताल, धनगढीको मायामेट्रो अस्पताल हुँदै काठमाडौँको हेल्पिङ ह्याण्ड अस्पतालमा गरिएको थियो।
वडाध्यक्ष देवकोटाले पार्टी कार्यालयमा भएको दुःखद घटनामा संलग्नहरूले गल्ती महसुस गरेको र अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धतासहित अदालतमा प्रक्रियागत रूपमा मिलापत्र गरिएको बताए।
युवा संघ कञ्चनपुरका नेता प्रविन बोगटीले राजनीतिक गतिविधिका क्रममा भएको घटनाबारे दुवै पक्षले आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेपछि मिलापत्रमा टुंग्याइएको बताए। उनका अनुसार मुद्दा–मामिलाभन्दा आपसी सहकार्य र हार्दिकता विकास गर्ने विषयमा एकमत बनेको हो।
पार्टी कार्यालयमै भएको कुटपिटपछि तालाबन्दी, आन्दोलन, कारबाही र फुकुवाजस्ता प्रक्रिया चलेका थिए। अन्ततः मिलापत्रमा टुंगिएपछि यसलाई नेता–कार्यकर्ताले आपसी सहमति र सहकार्यबाट विवाद समाधान गर्ने सकारात्मक अभ्यासका रूपमा लिएका छन्।
उक्त १०औँ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा तत्कालीन पार्टी पोलिटब्यूरो सदस्य तथा युवा संगठनका इन्चार्ज, हालका पार्टी नेता महेश बस्नेत प्रमुख अतिथि थिए। सम्मेलनका क्रममा नविन चन्द र दिनेश विष्ट समूहबीच मतभेद देखिएको बताइन्छ।
राजनीतिक कामकाजका क्रममा भएको कुटपिट दुःखद र नहुनुपर्ने घटना भए पनि मिलापत्रमार्फत समाधान हुनु पार्टीभित्र मात्र होइन, सामाजिक रूपमा पनि सकारात्मक रूपमा लिइएको छ।