सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीविरुद्ध कुप्रचार हुँदैछ, धक्काहरू छिचोल्दै एमाले अघि बढ्छ: केपी ओली

२०८३ असार २०, ०४:२६ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको बताएका छन्।

पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न आक्रमण र धक्काहरू सहँदै पार्टी आफ्नो उद्देश्यतर्फ अगाडि बढिरहेको उल्लेख गरे। उनले एमालेले विगतमा पनि ठूला धक्काहरू र असफलताहरू भोगेको स्मरण गराए।

ओलीले नदीको उदाहरण दिँदै भने, 'एउटा नदी अगाडि बढ्न कहिले यताको भित्तामा ठोक्किन्छ, कहिले उताको कुममा ठोक्किन्छ। सधैँ सोझो गतिमा, बिना व्यवधान कुनै पनि नदी अघि बढ्न सक्दैन। हामीलाई रोक्न पनि अनेक अवरोधहरू आउँछन्, तर ती सबै छिचोल्दै हामी अघि बढ्छौँ।'

अहिले पार्टीले एउटा गम्भीर धक्का सहनुपरेको उल्लेख गर्दै उनले कार्यकर्तालाई हिम्मत नहार्न आग्रह गरे। माओत्सेतुङको भनाइ उद्धृत गर्दै ओलीले हिम्मत र आँट गर्नेहरूले मात्र सङ्घर्षलाई अगाडि बढाउन सक्ने बताए। सजिला अवस्थामा सबैले साहस देखाए पनि अप्ठ्यारो समयमा नै वास्तविक दृढता परीक्षा हुने उनको भनाइ थियो।

पार्टीका कार्यकर्ता पङ्क्तिका लागि यो समय परीक्षाको घडीजस्तै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो परिस्थितिमा आँट गरेर उठ्ने र सङ्घर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट लोड गर्नुस