ललितपुरमा युवतीलाई गोप्य अङ्ग देखाउने सरकारी कर्मचारी पक्राउ
काठमाडौँः ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
घटना आइतबार साँझ करिब साढे ६ बजे भएको हो। पीडित युवतीले घटनापछि ती पुरुषको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक ध्यान तानेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको हो। उनी हाल सरकारी कर्मचारी रहेको र शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको खुलेको छ।
प्रहरीका अनुसार गल्लीमा युवतीलाई एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। त्यसपछि युवतीले साहस जुटाउँदै स्मार्टफोनमार्फत भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् र पक्राउ गरिदिन आग्रह गरेकी थिइन्। भिडियोमा अर्का एक यात्रुले आरोपीलाई नियन्त्रणमा लिएको, पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको दृश्यसमेत देखिन्छ।
पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले अनुसन्धान सुरु गरेको हो। घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सङ्कलन गरी थप अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरूले जनाएका छन्।