सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारमा ह्वात्तै बढ्यो सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति 

२०८३ असार २३, ०७:१३ खबर संवाददाता

धनगढीः असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ।

असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति बढेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५.२० प्रतिशत बजेट खर्च भएकोमा असार १९ सम्म झन्डै १० प्रतिशतले बजेट खर्च प्रगति भएको छ। असार महिनाको १९ दिनमा मात्रै प्रदेश लेखा नियन्त्रकको कार्यालयले तीन अर्ब २० करोड ७२ लाख रुपियाँ बजेट निकासा दिएको छ। 

जेठ मसान्तसम्म पुँजीगत पाँच अर्ब ५५ करोड ५० लाख (२८ प्रतिशत) र चालु ६ अर्ब २२ करोड ११ लाख (४५.७२ प्रतिशत) गरी जम्मा ११ अर्ब ७७ करोड ६१ लाख रुपियाँ बजेट खर्च भएको थियो। असारको १९ गतेसम्म १४ अर्ब ९८ करोड ३३ लाख रुपियाँ बजेट खर्च भइ खर्च प्रतिशत ४४.८१ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए। उनले असार २० गतेदेखि २५ गतेसम्म अझ बढी बजेट निकासा हुने गरेको उल्लेख गरे। 

“असार महिनामा बजेट निकासा अलि बढी नै हुने गर्दछ”, जोशीले भने, “तर, असार २० गतेदेखि खाता सञ्चालन रहेको दिन २५ गतेसम्म अत्यधिक निकासा हुन्छ।” असार १९ गतेसम्म प्रदेशका पुँजीगत बजेट सात अर्ब ४६ करोड ८९ लाख रुपियाँ (३७.६७ प्रतिशत) र चालु बजेट सात अर्ब ५१ करोड ४३ लाख रुपियाँ (५५.२६ प्रतिशत) खर्च भएको जनाइएको छ। अब चालु खर्चभन्दा पनि पुँजीगत खर्च अझ बढ्ने जोशीले उल्लेख गरे। (गोरखापत्र)

कमेन्ट लोड गर्नुस