अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ: फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ।
बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एकएक गोल गरे। खेल सुरुआती नवौँ मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक–एक बराबरीमा ल्याए।
त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो। खेलको ३३ औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ५७औँ मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को जित निकाल्यो।