नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
बाँकेः नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ।
दोस्रो जनआन्दोलन २०६२/ ६३ देखि गत वर्ष भदौमा भएको जेन्जी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो। विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए।
उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेन्जी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बिपी, पुष्पलाल र सहिद सेतु विकको सालिकहरु पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ।
सालिकसँगै चोकहरुको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरु आकर्षक देखिँदै गएको नगरप्रमुख विष्टले बताउनुभयो । केही दिनभित्रै सालिकहरुको शुभारम्भ गरिने उहाँको भनाइ छ ।
२०६२÷०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताउनुभयो ।