बेलौरीमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
बेलौरी: कञ्चनपुरको बेलौरीमा विद्यालय बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका-३ पडाउ बस्ने २९ वर्षीय महेश राना रहेका छन्। उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो बेलौरी -३ मा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ क २६२७ नम्बरको विज्डम एकेडेमी विद्यालयको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछी बस र बस चालक बेलौरी- ४ निवासी ४६ वर्षीय विज्ञान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए।