सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

२०८३ असार २४, ०४:३० रासस

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ। 

कृषिकर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै थप  चार जनालाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले जानकारी दिए। 

पुरस्कृत हुनेमा नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी रहेकाे छ। 

उनीहरुलाई आज धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही रु ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरे।  

पुरस्कृत कृषकमध्ये वेदकोटका कामीले तीन बिघामा तथा दार्चुलाका सितोलीले १५ रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गरिरहेका छन्। कैलालीकी देउवाले फलफूलखेती र सुन्तलाका बोट उत्पादन गर्दै आउनुभएको छ भने घोडाघोडीका खनालले व्यावसायिक रुपमा १७ बिघामा माछापालन गर्दै आएका छन्। उनले वार्षिक रुपमा करिब ५०० मेट्रिकटन माछा उत्पादन गरिरहेका छन्। 
    
कार्यक्रममा मन्त्री थापाले तत्कालीन समयमा ‘कि त जोत हलो, नत्र छोड थलो’, ‘जसको जोत उसकै पोत’ भन्ने क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा स्थापित पुरस्कार प्राप्त गर्नु किसानका लागि गौरवको विषय भएको बताए। उनले पुरस्कार प्राप्त किसानले थप उत्साहका साथ काम गरी अन्य व्यक्तिलाई पनि कृषितर्फ लाग्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिए। 

हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्ने ध्येयसहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ।

उनले भने, “किसान अन्नदाता हुन्, त्यसैले उहाँहरुको सम्मान आवश्यक छ। साथै उत्पादन लागत घटाउन प्रविधिको प्रयोग, जलवायुसँग अनुकूलित हुने कृषि प्रणालीको अभ्यास र उत्पादनको बजारीकरणका लागि सरकारले काम गर्छ । सबै मिलेर कृषिमार्फत देश विकासको आधार निर्माण गर्नुपर्छ।” 

मन्त्रालयका सचिव साहले कृषिबाटै सम्मानित जीवन र देशको कुल गार्हस्थ उत्पादनमा पनि बढी योगदान दिनेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

पुरस्कृत किसानले प्रदेश सरकारले विगत वर्षदेखि नै किसानलाई सम्मान र हौसला प्रदान गर्दै आएकामा खुसी व्यक्त गरे।
 
असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको छ। 

कमेन्ट लोड गर्नुस