सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलनको आडमा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो १० महिनापछि फेला

२०८३ असार २५, ०४:०९ खबर संवाददाता

धनगढी: जेन्जी आन्दोलनका क्रममा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ। गाडीको स्वरूप नै परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनले चढ्ने गाडी ७/८ जनाको समूहले जेन्जी आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै धनगढीबाट लुटेका थिए।
 

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने बा २ झ २८५९ नम्बरको गाडी डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे, मुखमा मास्क लगाएका सात/आठजनाको समूहले लुटेर लगेका थिए।

घटनापछि प्रहरीले गाडीको खोजी जारी राखेको थियो। सोही क्रममा असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र उक्त स्कारपियोको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त उद्योग अर्जुन कार्कीले सञ्चालन गर्दै आएका छन्।

प्रहरीले कार्कीलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान सुरु गरेको छ। गाडीलाई चिनिन नसक्ने बनाउने उद्देश्यले यसको बाहिरी स्वरूप परिवर्तन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको आशंका गर्दै फरार व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस