सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनाका गम्भीर घाइते वृद्धको उपचारकै क्रममा मृत्यु

२०८३ असार २५, ०७:५८ खबर संवाददाता

धनगढीः बैतडीमा असार २० गते भएको बस दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पाटन नगरपालिका–२ हसौडाका अन्दाजी ८० वर्षीय रामदत्त पाण्डेय रहेका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अन्य केही यात्रुको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्रप ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस असार २० गते शुक्रबार दिउँसो करिब साढे ३ बजे पाटन नगरपालिका–९ गैराखान क्षेत्रमा दुर्घटनामा परेको थियो।

प्रहरीका अनुसार बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए। उपचारकै क्रममा एक जनाको मृत्यु भएसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक पुगेको छ।

कमेन्ट लोड गर्नुस