सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा दुईवटा भरुवा बन्दुक फेला

२०८३ असार २६, १०:१९ खबर संवाददाता

डोटीः डोटीमा छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीवार जोरायल गाउँपालिका–२ स्थित कमला नदी क्षेत्रको वस्तुस्थिति बुझ्न गस्तीमा खटिएको प्रहरी टोलीलाई दुर्गा देवी सामुदायिक वनमा बाख्रा चराइरहेका तीन बालकले झाडीमुनि बन्दुक रहेको जानकारी दिएका थिए। त्यसपछि प्रहरी टोलीले उक्त स्थानमा पुगेर एकनाले खाली भरुवा बन्दुक बरामद गरेको हो।

त्यसैगरी, शिखर नगरपालिका–३ स्थित श्री कालिका आधारभूत विद्यालयको भवन वर्षाका कारण भत्किएको सूचना पाएपछि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी टोलीले शिखर–४ धुर्कोटको सेलपुङ्गा टोल नजिक गोरेटो बाटोमाथिको बाबियोको झाङमा अर्को एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

दुवै बन्दुक कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।

कमेन्ट लोड गर्नुस