सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो दिनमै सकिए लिचीका बिरुवा, दोस्रो दिन पुगेका किसान निराश

२०८३ असार २६, ०२:०९ लक्ष्मण ढुङ्गाल

धनगढी: कृषि ज्ञान केन्द्र कैलालीले वार्षिक कार्यक्रमअन्तर्गत फलफूलका बिरुवा वितरण सुरु गरेसँगै लिचीका बिरुवाको अभाव भएको छ। वितरण सुरु भएको पहिलो दिनमै सबै लिचीका बिरुवा सकिएपछि दोस्रो दिन केन्द्र पुगेका धेरै किसान खाली हात वा चाहेको बिरुवा नपाई घर फर्किन बाध्य भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालित वार्षिक कार्यक्रमअनुसार धनगढीस्थित कृषि ज्ञान केन्द्रले तराई लक्षित फलफूलका बिरुवा वितरण सुरु गरेको हो। तर लिचीको माग अत्यधिक भएपछि पहिलो दिनमै सबै बिरुवा सकिएका कारण शुक्रबार केन्द्र पुगेका किसान निराश बने।

धनगढी उपमहानगरपालिका–१६ रामपुर भादाका किसान भिमबहादुर चौधरी बिहान ८ बजे नै लिचीका बिरुवा लिन केन्द्र पुगेका थिए। तर उनले खोजेको बिरुवा नपाएपछि आँपका बिरुवा लिएर घर फर्किनुपर्‍यो।

"हामी तीन जना साथी टाढाबाट लिचीका बिरुवा लिन आएका थियौं। तर यहाँ आइपुग्दा सबै सकिएको रहेछ। अन्ततः आँपका बिरुवा मात्रै लिएर फर्किनुपर्‍यो," चौधरीले भने।
उनले करिब साढे चार सय रुपैयाँ तिरेर केही आँपका बिरुवा खरिद गरेका हुन्।

बिहीबारदेखि सुरु भएको वितरण कार्यक्रममा कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका तथा आसपासका क्षेत्रबाट किसान बिहानैदेखि केन्द्र पुगेका थिए। तर पहिलो दिनमै सबै लिचीका बिरुवा सकिएपछि दोस्रो दिन पुगेका धेरै किसानले आफूले चाहेको बिरुवा नपाएको गुनासो गरेका छन्।

धनगढीका अर्का किसान दिपक शर्माले पनि सस्तो दरमा बिरुवा वितरण भइरहेको जानकारी पाएपछि बिहानै केन्द्र पुगेका थिए। तर लिचीका बिरुवा सकिइसकेको जानकारी पाएपछि उनी पनि एउटा आँपको बिरुवा लिएर निराश हुँदै घर फर्किए।
यता धनगढी–१ की राधा बिष्टले केन्द्रमा बाँकी रहेका आँपका बिरुवाको गुणस्तर अपेक्षाअनुसार नरहेको बताइन्।

"स्थानीय सरकारले किसानलाई निःशुल्क बिरुवा उपलब्ध गराउनुपर्ने हो। तर हामीले प्रति बिरुवा शुल्क तिरेर खरिद गर्नुपरेको छ," उनले भनिन्।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ५ हजार आँप र ५ हजार लिची गरी कुल १० हजार फलफूलका बिरुवा वितरणका लागि ल्याइएको थियो।

"करिब १० लाख रुपैयाँको बजेटमा यति नै बिरुवा ल्याइएको हो। लिचीको माग अत्यधिक भएकाले पहिलो दिनमै सबै बिरुवा वितरण भइसके," बिष्टले बताए।

उनका अनुसार किसानको बढ्दो मागलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षदेखि फलफूलका बिरुवाको संख्या दोब्बर बनाउने तयारी गरिएको छ।

"किसानलाई फलफूल खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यले प्रति बिरुवा ४२ रुपैयाँका दरले बिरुवा वितरण गरिएको हो। आगामी वर्ष मागअनुसार बिरुवाको संख्या बढाउने योजना बनाएका छौं," बिष्टले जानकारी दिए।

फलफूल खेतीप्रति किसानको आकर्षण बढ्दै गए पनि मागअनुसार बिरुवा उपलब्ध गराउन नसक्दा कृषि ज्ञान केन्द्रको योजना, पूर्वतयारी र व्यवस्थापनमाथि भने प्रश्न उठ्न थालेको छ। किसानहरूले आगामी वर्ष मागअनुसार पर्याप्त बिरुवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस