सुदूर नेपाललाई विश्वसँग जोड्दै

'तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर?': ज्ञानेन्द्र शाहीको संसदमा प्रश्न

२०८३ असार २६, ०२:५० खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङमाथि कडा आलोचना गरेका छन्। गणेश नेपालीको मृत्यु प्रकरणलाई उठाउँदै उनले गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न गरेका हुन्।

संसदमा बोल्दै शाहीले, "तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर?" भन्दै गृहमन्त्रीले जनताको जीवन बचाउनुभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको आरोप लगाए।

उनले गणेश नेपालीको उपचारमा सरकार गम्भीर नभएको दाबी गर्दै समयमै सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था, आवश्यक परे एयर एम्बुलेन्स वा जहाजमार्फत दिल्ली पठाइएको भए उनको ज्यान जोगिन सक्ने तर्क गरे।

शाहीले गृहमन्त्री मिडिया र क्यामरा बोकेर विभिन्न स्थानमा दौडिएको आरोप लगाउँदै युट्युबका लागि कन्टेन्ट बनाउनु भन्दा जनताको ज्यान बचाउनु सरकारको पहिलो दायित्व भएको बताए।

उनले भने, "आज युट्युबमा कति कन्टेन्ट बन्यो भन्ने होइन, गृहमन्त्रीको निर्णयले जनताको जीवन बच्यो कि बचेन भन्ने कुरा महत्त्वपूर्ण हो।"

सरकारमाथि जनताको जीवन झन् कठिन बनाएको आरोप लगाउँदै शाहीले करको भारले गरिब र दुःखी जनता थप समस्यामा परेको बताए। उनले सरकारलाई जनताको पीडा सुन्न र उनीहरूको आँसु पुछ्न आग्रह गर्दै, "गरिब दुःखी जनताको आँसु पुछिदे सरकार," भने।

कमेन्ट लोड गर्नुस