सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

२०८३ असार २७, ०७:१७ रासस

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’माथि छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन्।

छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट कार्यान्वयन, राजस्व परिचालन, वित्तीय आत्मनिर्भरता र विकास योजनाको प्रभावकारितामा जोड दिएका थिए। विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, तुलसी देवकोटा र दमन भण्डारीले भाग लिएका थिए भने आर्थिक विधेयकमाथिको छलफलमा अक्कलबहादुर रावल, धर्मराज पाठक र मानबहादुर धामीले धारणा राखे।

प्रदेशसभा सदस्य चौधरीले राजस्व अनुमान यथार्थपरक हुनुपर्ने, आर्थिक विकास र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्नेगरी योजना छनोट तथा बजेट विनियोजन हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए । सङ्घीय सरकारले अनुदान घटाएको अवस्थामा प्रदेशले सामना गर्नुपर्ने चुनौतीबारे पनि पूर्वतयारी आवश्यक रहेको चौधरीको भनाइ थियो।

प्रदेशसभा सदस्य देवकोटाले बजेटको मूल्याङ्कन रकमको आकारका आधारमा नभई नागरिकको जनजीविकामा पार्ने प्रभावका आधारमा गर्नुपर्ने धारणा राखिन। उनले कृषि, रोजगारी, युवा तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको बजेटले समृद्ध सुदूरपश्चिम निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिन्। 

प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रदेशको राजस्वको आधार कमजोर रहेको र राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको टिप्पणी गरे। उनले केन्द्रमाथिको निर्भरता घटाउन आन्तरिक स्रोत परिचालनमा जोड दिँदै करको दायरा विस्तारसँगै प्रभावकारी कर सङ्कलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशमाथि विभिन्न प्रकारका आलोचना भइरहेकाले त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशको कुल बजेटमा आफ्नै स्रोतको योगदान करिब चार प्रतिशत मात्र रहेको उल्लेख गर्दै स्रोत पहिचान र आम्दानी विस्तारबारे वर्षौँदेखि छलफल भए पनि त्यसअनुसार प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।

प्रदेशसभा सदस्य मानबहादुर धामीले बजेट र सम्बन्धित विधेयकहरूमाथिको छलफल औपचारिकतामा सीमित हुन नहुने बताउँदै त्यसलाई परिणाममुखी बनाउन आग्रह गरे। उनले राजनीतिक नेतृत्वबाट कमजोरी भए पनि कानुन र प्रशासनमा अनुभवी राष्ट्रसेवक कर्मचारीले आवश्यक सुधारका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे।

प्रदेशसभाको आजको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख भीमबहादुर भण्डारीले जानकारी गराए।

कमेन्ट लोड गर्नुस