सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालामा कविता वाचन प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान

२०८३ असार २७, ०५:०३ खबर संवाददाता

धनगढीः २१३औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

प्रतियोगितामा कैलाली र कञ्चनपुर क्षेत्रका १६ विद्यालयको सहभागिता रहेको थियो। चैतन्य पाठशालाको सभा हलमा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी सभापति रहेका थिए। सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेका थिए।

कैलाली कञ्चनपुरका १६  विद्यालयका २९ जना विद्यार्थी सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। अन्तर विद्यालय कविता प्रतियोगितामा चैतन्य पाठशालाकी छात्रा सन्ध्या अवस्थी प्रथम, डिस्कभरि स्कुलबाट शिशिर ओझा द्वितीय, माइल स्टोन स्कुलकी अनुजा चौधरी तृतीय र  पञ्चोदय माध्यमिक विद्यालयकी अञ्जली धानुकले सान्त्वना स्थान हात पारेका छन् ।

प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः पाँच हजार १०५, तीन हजार ५०५, दुई हजार पाँच रुपैयाँ ,एक हजार पाँच रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागिता जनाएका सम्पूर्ण २९ जना  विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक वासुदेव विष्ट, सह-प्राध्यापक गणेशराज जोशी र साहित्यकार कोपिला शर्मा निर्णायकको रूपमा रहेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटकबहादुर सिंहले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यिक अभिरुचि बढाउने भएकाले चैतन्यले यस्ता कार्यक्रमलाई अझ आयोजना गर्दै जाने बताए।

आँखाले नदेखेको कुरा समेत साहित्यले प्रकाश पार्ने कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साहित्यकार रामलाल जोशीको भनाई रहेको थियो। उनले आजको कार्यक्रमको उपस्थिति र कार्यक्रममा प्रस्तुत भएका रचनाले अहिलेको युवा पुस्तामा साहित्य प्रतिको मोह झल्काएको र विद्यालय स्तरमा यतिको प्रस्तुतिले आफूलाई खुसी लागेको बताए।

कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले आज पाठशालाले कवि भानुभक्त आचार्यको योगदानको कदर र उनको बिचारको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। भानुभक्तको देश प्रेम र समाज प्रेमको बिचार र बाटोमा हिड्न सकेमा देशलाई समेत योगदान पुग्ने बताए ।

 

कमेन्ट लोड गर्नुस