सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जिप दुर्घटना: ६ गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर

२०८३ असार २८, १२:४२ खबर संवाददाता

धनगढी: बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ।

प्रहरीका अनुसार शनिबार उद्धारका लागि सदरमुकाम चैनपुर पुगेको नेपाली सेनाको हेलिकप्टरले घाइतेहरूलाई दुई–दुई जनाका दरले पालैपालो नेपालगञ्ज पुर्‍याइरहेको छ।

नेपालगञ्ज रेफर गरिएकामा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्। उनीहरूलाई दुर्घटनापछि उद्धार गरेर जिल्ला अस्पताल बझाङमा पुर्‍याइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो।

शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च २६६४ नम्बरको जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगेको भए पनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। त्यसपछि घाइतेहरूलाई राति एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याइएको र गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस