बाजुराको हिमाली गाउँपालिका धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुने
बाजुराः बाजुराको हिमाली गाउँपालिका–६, धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुने भएपछि स्थानीयवासी हर्षित भएका छन्। सामान्य आँखाको उपचारका लागि पनि कोल्टी वा अन्य स्थान जानुपर्ने बाध्यता भोग्दै आएका स्थानीय अब गाउँमै सेवा पाउने भएपछि खुसी भएका हुन्।
नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा असार २९ गतेदेखि धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको छ। हिमाली गाउँपालिकाले स्थानीयलाई गाउँमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ती संस्थासँग समन्वय र साझेदारी गरी उपचार केन्द्र स्थापना गर्न लागेको जनाएको छ।
हिमाली गाउँपालिका–६ का स्थानीय रामबहादुर रावतले सामान्य आँखाको उपचारका लागि पनि कोल्टी अस्पताल धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब गाउँमै सेवा पाउने भएपछि ठुलो राहत मिल्ने बताए।
हिमाली गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार पालिकाका अधिकांश बस्ती दुर्गम क्षेत्रमा रहेका छन्। सामान्य आँखाको समस्याका लागि पनि दुई–चार दिनको यात्रा गरेर कोल्टी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न उपचार केन्द्र स्थापना गर्न लागिएको हो।
उनले विगतमा सामान्य स्वास्थ्य उपचारका लागि समेत स्थानीयले सास्ती खेप्नुपरेको उल्लेख गर्दै अहिले अधिकांश बस्तीमा आधारभूत स्वास्थ्य सेवा विस्तार भएपछि गाउँमै उपचार सेवा सहज बन्दै गएको बताए। पालिकाको पहलपछि धुलाचौरस्थित गाउँपालिका कार्यालय नजिक आँखा उपचार केन्द्र स्थापना हुन लागेको र यसबाट स्थानीयलाई विशेष सुविधा पुग्ने उनको भनाइ छ।
जिल्लाका अन्य पालिकाको तुलनामा हिमाली गाउँपालिका भौगोलिक रूपमा निकै विकट मानिन्छ। यद्यपि, स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, सडक र खानेपानीलगायत आधारभूत सेवाको विस्तारमा प्राथमिकता दिँदै आएको जनाएको छ।
पहिले सामान्य बिरामी हुँदा पनि कोल्टी अस्पताल पुग्नुपर्ने अवस्था रहेकामा अहिले अधिकांश स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुन थालेको छ। गर्भवती महिलाले गाउँमै भिडियो एक्स–रे सेवा समेत पाउन थालेका छन्।
यसैगरी, विगतमा खोला र कुवाको पानी प्रयोग गर्न बाध्य स्थानीय अहिले घरघरमा निर्माण गरिएका खानेपानीका धाराबाट स्वच्छ पानी उपभोग गरिरहेका छन्। पालिकाले दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्न ठुला चट्टान फोडेर आफ्नै लगानीमा सडक निर्माणलाई तीव्रता दिएको जनाएको छ। यसबाट धेरै गाउँबस्ती सडक पहुँचमा पुगेका छन्।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जनताले दिएको जिम्मेवारी अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले विगत पाँच–सात वर्षदेखि स्वास्थ्य, शिक्षा, सडक, खानेपानी तथा अन्य भौतिक पूर्वाधार विकासमा निरन्तर काम भइरहेको उल्लेख गरे। पालिकाले नागरिकमुखी सेवा विस्तारलाई प्राथमिकतामा राखेकाले स्थानीयवासीमा सन्तुष्टि बढ्दै गएको अध्यक्ष मल्लको भनाइ छ। -गाेरखापत्रबाट