सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले साथ छाडेपछि बजेटमा सहयोग माग्दै मुख्यमन्त्री, नेकपाले गर्‍यो अस्वीकार

२०८३ असार ३१, ०८:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव अस्वीकार भएको छ।

सरकारलाई समर्थन गरिरहेको एमालेले साथ छाडेपछि बजेट पारित गर्ने अंकगणित जटिल बनेको अवस्थामा मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलका लागि प्रस्ताव गरेका थिए।

मुख्यमन्त्रीको आग्रहपछि नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पठाएका थिए।

छलफलका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेट पारित गर्न सहयोग गर्न अनुरोध गरेका थिए। तर नेकपाका प्रतिनिधिहरूले वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने स्पष्ट जवाफ दिएका थिए।

छलफलपछि उनीहरू कुनै सहमति नजुटाई फर्किएको स्रोतले जनाएको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ। यस्तो अवस्थामा बजेट पारित गर्न सरकारलाई अन्य दलको समर्थन आवश्यक पर्ने भए पनि नेकपाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि बजेट पारित गर्ने सरकारको प्रयास थप चुनौतीपूर्ण बनेको छ।

कमेन्ट लोड गर्नुस