सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोल्ड कप आयोजनाको खबरले टीकापुरवासी खुसी

२०८३ असार ३२, ०७:५४ रासस

भजनी: असोज १९ देखि २६ गतेसम्म ‘टीकापुर गोल्ड कप– २०८३’ आयोजना हुने भएपछि टीकापुरवासी खुसी भएका छन्।

टीकापुर उद्योग वाणिज्य सङ्घले टीकापुरलाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले गोल्ड कप आयोजना गर्ने भएपछि यहाँका स्थानीयवासी खुसी भएका हुन्। 

सङ्घका अध्यक्ष सन्तोष खड्काले गोल्डकप हुने भएपछि यहाँ आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै स्थानीय क्षेत्रमा चहलपहल बढ्ने भएका कारण सर्वसाधारण खुसी हुने बताए।

अध्यक्ष खड्काले प्रतियोगितालाई सफल बनाउन राजनीतिक दल, सामाजिक सङ्घसंस्था, उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सर्वसाधरणलाई अनुरोध गरेका छन्।

खड्ग स्मृति रङ्शाला, टीकापुरमा खेल खेलाइने नगर खेलकुद विकास समितिले बताएको छ। खेल सञ्चालनका लागि खड्ग स्मृतिको स्वामित्वमा रहेको २२ बिघा मैदान प्रयोग गरिने भएको छ। मैदानलाई खड्ग स्मृति रङ्गशालाको नाम दिइएको छ।

प्रतियोगितामा स्वदेश तथा देश बाहिरका विभिन्न फुटबल समूहको सहभागिता रहने छ । देश बाहिरका समूहका लागि  अखिल नेपाल फुटबल सङ्घसँग समन्वय र सहकार्य भइरहेको सङ्घले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । टीकापुर नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरेको छ । स्थानीय तह, प्रदेश सरकार तथा निजी व्यापारी तथा व्यवसायीसँग सहयोगको अपिल गरिएको छ।

कमेन्ट लोड गर्नुस