सुदूर नेपाललाई विश्वसँग जोड्दै

'कमिसन, गुट र आफ्नै जिल्लामा बजेटको वर्षा; सत्ता गुमेपछि कुम्ल्याउने अवसर पनि सकियो'—गौरी ओलीको एमाले मन्त्रीमाथि कटाक्ष

२०८३ साउन १, ०६:४१ नारायण अवस्थी

धनगढी: नेकपा (एमाले) नेतृ गौरी ओलीले सुदूरपश्चिम प्रदेश सरकारबाट बर्खास्त भएका आफ्नै पार्टीका पूर्वमन्त्रीहरूमाथि कडा टिप्पणी गर्दै बजेट वितरणमा कमिसन, गुटगत राजनीति र क्षेत्रीय पक्षपात हाबी भएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले पार्टीले जिल्ला नेतृत्वको सिफारिसका आधारमा अध्यक्ष र इन्चार्जको हस्ताक्षरसहित योजना पठाउन निर्देशन दिए पनि ती योजनालाई बेवास्ता गरिएको दाबी गरेकी छन्। उनका अनुसार जिल्लाबाट पठाइएका योजना रद्दीको टोकरीमा फालेर फेरि कमिसनको खेलका आधारमा बजेट बाँडिएको थियो।

योजना किन परेन भन्ने जिज्ञासामा कहिले कर्मचारीले काटेको, कहिले अर्को मन्त्रीले हटाएको र अर्को वर्ष समेट्ने आश्वासन दिइएको भए पनि हरेक वर्ष उही प्रवृत्ति दोहोरिएको उनको आरोप छ।

ओलीले बजेट वितरणमा पार्टीभित्रै गुट हेर्ने, फरक समूहका नेताको फोनसमेत नउठाउने प्रवृत्ति रहेको उल्लेख गर्दै बजेट अधिकांश कमिसन दिने व्यक्ति, आफ्नै पालिका वा जिल्लामा केन्द्रित गरिएको दाबी गरेकी छन्।

उदाहरण दिँदै उनले गत वर्ष एक मन्त्रीले आफ्नै टोलमा २१ वटा योजना हालेको र यस वर्ष बैतडीका मन्त्रीले आफ्नै जिल्लामा करिब एक हजार योजना समेटेको आरोप लगाएकी छन्। अन्य जिल्लाका जनतालाई बेवास्ता गरिएको उनको भनाइ छ।

ओलीले सत्ता र पैसाको लोभमा अनैतिक ढंगले सरकारमा टिकिरहन खोज्दा अन्ततः अपमानजनक ढंगले सत्ता गुमाउनुपरेको टिप्पणी गर्दै व्यंग्य गरेकी छन्, 'सत्ता च्युतसँगै कुम्ल्याउने अवसर पनि खोसियो, अब चाहिँ के खालान बिचरा।'

मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट प्रदेश सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्लला साउँदलाई बुधवार बर्खास्त गरेका हुन्। एमाले मन्त्रीको बर्खास्तीसँगै उनीहरूले हालेका योजनाको मात्रै होइन बजेट नै पास हुन सकेन।

एमाले नेतृ ओलीको यो टिप्पणी सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिएपछि सार्वजनिक भएको हो। उक्त अभिव्यक्तिले पार्टीभित्र बजेट वितरणको शैली, नेतृत्वको कार्यशैली र आन्तरिक असन्तुष्टिबारे पार्टीमा चरम असन्तुष्टि रहेको देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस