सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल

२०८३ साउन ५, ०३:२२ रासस

कर्णालीः पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक पूर्वाधारको स्थलगत अनुगमन गरेर नेपालगन्ज फर्कनुभएको छ। जुम्लाबाट मुगु हुँदै सोमबार हुम्ला पुग्नुभएका मन्त्री लम्सालले कर्णालीका सडकलगायतका पूर्वाधारहरूको विकास अवस्था, निर्माणकार्यको प्रगति अध्ययन र सबै सरोकारवालाहरूको माग तथा सुझाव सङ्कलन गरेर आज नेपालगन्ज फर्कनुभएको हो। 

काठमाडौँबाट गत शुक्रबार सुर्खेत अवतरण भएलगत्तै वीरेन्द्रनगरमा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख, निर्माण व्यवसायी, जनप्रतिनिधि, राजनीतिकर्मी, जनतासहित सबै सरोकारवालाहरूसँग संक्षिप्त छलफल गरेर कर्णाली राजमार्गको दैलेख हुँदै कालीकोटको सदरमुकाम मान्म पुग्नुभएको थियो।

शनिबार कालीकोट खण्डको सडक, भौतिक संरचनाको अनुगमन गरी प्राविधिक रूपमा देखिएका त्रुटि सुधार गर्न र बजेटको समुचित प्रयोग हुनेगरी खर्च गर्न निर्देशन दिए। यात्राका क्रममा कर्णाली राजमार्गलगायत सहायक मार्गहरू, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका संरचनाहरूको मन्त्री लम्सालले अनुगमन गर्नुभएको छ।

मुगु जिल्लाको सडक अवलोकन गर्दै हुम्ला पुग्नुभएका उहाँले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग प्रत्यक्ष छलफल, अन्तक्र्रिया गरी उनीहरूका समस्या, आवश्यकता, माग र सुझाव सङ्कलन गरी फर्कनुभएको सांसद रमेश सापकोटाले जानकारी दिए।

उनले भने, “कर्णालीजस्तो भौगोलिक विकट र जोखिमपूर्ण बाटोमा आफैँ सवारी चलाएर स्थलगत अनुगमन गर्ने र जनतासँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या सुन्ने लम्साल इतिहासकै पहिलो मन्त्री हुनुहुन्छ। अनुगमनका क्रममा उहाँ आफैँले कर्णालीको विकासका लागि सरकारले के–के गरिदेओस् भन्ने चाहनुहुन्छ भनेर जनतासँग जिज्ञासा राख्नुभयो र आएका सुझावलाई नोट गरेर लिनुभएको छ।”

उनका अनुसार कर्णालीवासीले दुई लेनको कर्णाली राजमार्गको स्तरोन्नति, सबै जिल्लामा सडक सञ्जाल जोड्नुपर्ने, पुल, खानेपानी, सञ्चार, सिँचाइ, विद्यालय निर्माण गर्नुपर्नेलगायतका आवश्यकता समेटिएका माग राखेका थिए। यतिबेला मन्त्री आफैँले कर्णाली सडकलगायतका पूर्वाधारको अवस्था र नागरिकहरूको समस्या तथा आवश्यकता नजिकबाट अध्ययन गरेर जानुभएकाले अब विकासले गति लिने अपेक्षा यहाँका जनताले गरेको सांसद सापकोटाले बताए। 
 

कमेन्ट लोड गर्नुस