सुदूर नेपाललाई विश्वसँग जोड्दै

अविरल वर्षापछि बाजुराको कोर्धमा ६ घर पूर्ण जोखिममा, १० घर प्रभावित

२०८३ साउन ५, ०६:३० खबर संवाददाता

बाजुराः अविरल वर्षाका कारण आएको पहिरो र जमिन भासिँदा बाजुराको बडिमालिका नगरपालिका–६, कोर्धका ६ घरधुरी पूर्ण जोखिममा परेका छन् भने १० घरधुरी सामान्य जोखिममा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन ४ गते राति करिब ९ बजेदेखि परेको लगातार वर्षापछि पहिरो खस्दा र जमिन भासिँदा स्थानीय बस्ती जोखिममा परेको हो। घटनाबारे साउन ५ गते बिहान ११ बजे प्रहरीमा सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा तथा बडिमालिका नगरपालिकाको संयुक्त अनुगमन टोली घटनास्थलतर्फ खटिएको थियो। टोली दिउँसो २ बजे घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा प्रसादे साउँद, गोरे साउद, अम्मर साउँद, भक्त साउँद, लाल साउँद र खडक साउँदका घरधुरी पूर्ण जोखिममा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

त्यस्तै बल साउँद, मन साउँद, शिव बडुवाल, जय साउँद, नर साउँद, भाने साउँद, गोरख साउँद, अर्का बल साउँद, खन्टे ल्वार र पवन विकका घरधुरी सामान्य जोखिममा रहेका छन्।

घटनामा हालसम्म कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। जोखिममा रहेका परिवारहरू तत्काल विस्थापित भने भएका छैनन्।

प्रहरीले घटनास्थलमा आवश्यक सर्जमिन मुचुल्का तयार गरी राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब ७।८ किलोमिटर पश्चिममा पर्दछ।

कमेन्ट लोड गर्नुस