कैलालीको भजनीबाट भन्सार छलीको अवैध बिडी बरामद
कैलाली: कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएको बिडी बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट प्रहरी सहायक हवल्दार (प्र.स.ह.) केशव साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन ६ गते बिहान १०:०० बजेको समयमा उक्त सामग्री बरामद गरेको हो।
प्रहरी टोलीले भजनी नगरपालिका वडा नं. ८ खैरीस्थित इलाकाबाट बेवारिसे अवस्थामा राखिएको ५२ प्याकेट बिडी फेला पारेको जनाएको छ। बरामद गरिएको बिडीको प्रतिप्याकेट रु. ३०० का दरले जम्मा रु. १५,६००।- (पन्ध्र हजार छ सय) बराबरको अनुमानित मूल्य रहेको छ।
भन्सार छलेर ल्याइएको उक्त बेवारिसे सामानलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनी, कैलालीमा राखिएको छ।