बाँदर आतङ्कले बाजुराका स्याउ किसान चिन्तित
बाजुराः बाजुराका किसानलाई अहिले बाँदरबाट स्याउ कसरी जोगाउने भन्ने चिन्ता छ । साउनको पहिलो सातादेखि बाँदरले केही स्याउ खाने र केही स्याउ रुखबाट झारिदिने गरेपछि अहिले यहाँका किसानलाई स्याउ कसरी जोगाउने भन्ने चिन्ता परेको हो । यहाँका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा किसानले अहिले स्याउ खेती गर्दै आएका छन् ।
आम्दानी राम्रो हुने सम्भावना देखिएपछि पछिल्लो समय यहाँका किसान स्याउ खेतीमा लागेका हुन् । यहाँ स्याउ खेती राम्रो हुने भए पनि पहिला सडक नहुँदा उत्पादन गरेका स्याउ बजारसम्म पु¥याउन समस्या हुन्थ्यो ।
अहिले यहाँका गाउँबस्तीमा सडक पुगेपछि स्याउ बजारसम्म लैजान सहज भएको छ । यसै कारण किसानले अन्नबालीभन्दा पनि स्याउ खेतीमा बढी चासो दिन थालेका हुन् । योभन्दा पहिला बाँदरले प्रायः अन्नबाली मात्र खान्थ्यो, स्याउमा खासै असर गरेका थिएन । अहिले भने साउनको पहिलो सातादेखि स्याउसमेत खान सुरु गरेको छ । यहाँका किसान भदौ १५ देखि असोजमा स्याउ टिप्ने र त्यो स्याउ बजारमा लगेर बिक्री गर्ने गर्थे । जगन्नाथ गाउँपालिका–१, ढाडाकोटका मनोज कामीले कालाजुर, नाउली, कालापानी, डोप्कामा झन्डै तीन हजारदेखि चार हजारसम्म स्याउका बोट रहेको बताए। २०७१/७२ सालमा यहाँका विष्ट, विश्वकर्मा, गिरी, रोकाया, बोगटी, खत्री र उपाध्यालगायतका चार/पाँच सय परिवारले यहाँ स्याउ लगाएका हुन् ।
ती बोटमा गत वर्षदेखि स्याउ राम्रो फल्ने गरेको छ । उनीहरूले गत वर्षमा एकै जनाले झन्डै ३५ हजारभन्दा बढीको स्याउबारीमा नै बेचेका हुन् । यस वर्ष भने ठेकेदार आउनु पहिला नै बाँदर बारीमा पुगेर सबै स्याउ सखाप पारिदिएको कामीले बताए।
जगन्नाथ गाउँपालिका–१ का स्थानीय केपी सार्कीले अन्नबालीभन्दा स्याउले जीविकोपार्जन गर्न सहज हुन्छ भनेर स्याउ खेती सुरु गरेकामा अहिले बाँदरले सबै स्याउ सखाप पारिदिएपछि अब के खेती गर्ने चिन्ता लागेको बताए।
बाजुरामा पहिला पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले यहाँका किसानले गाला, फुजीलगायतका उन्नत जातको स्याउ उत्पादन गर्दै आएका छन् । बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । यहाँ गत वर्षमा एक हजार २० मेट्रिक टन उत्पादन भएको थियो । त्यो केही स्याउ देशका विभिन्न जिल्लामा बिक्री गरेको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख जसिराम साहनीले बताए।
यहाँका किसानको सबैभन्दा ठुलो समस्या बाँदर आतङ्क हो । बाँदरबाट खेती जोगाउने स्थानीय सरकारसँग पनि केही कार्ययोजना नभएको स्थानीय तहले बताउँछन् । यता बाँदरबाट खेती जोगाउने उपाय केही छैन । बरु बाँदरले गरेको क्षति यकिन गरेर त्यसको सिफारिस आएपछि राहतको व्यवस्था गर्न सकिने डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुभाष ऐडीले बताए।