सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा हेलिएकी महिलाको उद्धार गर्ने प्रहरीका कार्यालय सहयोगी महरा सम्मानित

२०८३ साउन ८, ११:४५ खबर संवाददाता

धनगढीः महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलालाई आफ्नो ज्यानको समेत प्रवाह नगरी सकुशल उद्धार गर्ने प्रहरी कार्यालय दार्चुलाका सहयोगी प्रकाश सिंह महरालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले 'पुलिस अफ द मन्थ' सम्मान प्रदान गरेको छ।

२०८३ साल असार महिनाका 'पुलिस अफ द मन्थ' घोषित महरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले बिहीवार प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरे।

सम्मान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख भट्टराईले नागरिकको जिउज्यानको रक्षा गर्न जोखिम मोलेर कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको साहस, समर्पण र कर्तव्यनिष्ठाको उच्च प्रशंसा गरे। उनले यस्ता प्रेरणादायी कार्यले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्य गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दै राम्रो कामको सदैव उचित मूल्याङ्कन हुने बताए

'पुलिस अफ द मन्थ' सम्मानअन्तर्गत प्रहरी कार्यालय सहयोगी महरालाई अभिलेखमा जनिने गरी प्रशंसापत्रसहित नगद पुरस्कार समेत प्रदान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस