सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट १ अर्ब २९ करोडभन्दा बढीको निर्यात, वनजन्य वस्तुमै सीमित व्यापार

२०८३ साउन १३, ०२:२६ नारायण अवस्थी

धनगढीः कैलाली–कञ्चनपुर सीमास्थित सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन्। कैलाली भन्सार कार्यालयका अनुसार निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ तथा वनजन्य उत्पादनमा सीमित रहेका छन्। ती वस्तुबाट एक करोड ८४ लाख ७१ हजार ७२३ रुपैयाँ राजस्व संकलन भएको छ।

तथ्याङ्कले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास अपेक्षित रूपमा हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखाएको छ।

भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी ४४ करोड २७ लाख २८ हजार पाँच सय रुपैयाँ बराबरको रोजिन तथा रेजिन एसिड निर्यात भएको छ। त्यसपछि २१ करोड ६६ लाख ७९ हजार ८४० रुपैयाँको कत्था, १६ करोड ९२ लाख २०० रुपैयाँको वनस्पतिबाट प्राप्त हुने रस तथा अर्क, १३ करोड एक लाख ५७ हजार ४४८ रुपैयाँको पिना तथा १२ करोड ७८ लाख ८४ हजार रुपैयाँ बराबरको तरल कत्था निर्यात गरिएको छ।

यस्तै, १२ करोड सात लाख ९७ हजार ६०० रुपैयाँको टर्पेन्टाइन तेल, तीन करोड ५७ लाख ४५ हजार ७५८ रुपैयाँको प्लाइउडमा प्रयोग हुने भिनियर सिट, तीन करोड २९ लाख आठ हजार रुपैयाँको खयर कत्था तथा दुई करोड १५ लाख ४१ हजार १३६ रुपैयाँ बराबरको खरी ढुङ्गा निर्यात भएको छ। यीमध्ये अधिकांश वस्तु वनजन्य स्रोत वा सामान्य प्रशोधनपछि निर्यात हुने भएकाले उच्च मूल्य अभिवृद्धियुक्त औद्योगिक उत्पादनको हिस्सा न्यून देखिएको छ।

राजस्व संकलनमा लक्ष्यभन्दा कम, तर सुधार
कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नौ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। सो अवधिमा आठ अर्ब ३९ करोड ८५ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्दै लक्ष्यको ८६ दशमलव ४८ प्रतिशत हासिल गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशत राजस्व संकलन भएको थियो। यस आधारमा लक्ष्य प्राप्तिको प्रतिशतमा यस वर्ष करिब ८ दशमलव ८१ प्रतिशत बिन्दुले सुधार आएको देखिएको छ।

इन्धन आयातबाटै अधिकांश राजस्व
भन्सार कार्यालयका अनुसार गौरीफन्टा नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, कागज, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरीलगायतका वस्तु ठूलो परिमाणमा आयात भएका छन्।

डिजेल आयातबाट मात्रै तीन अर्ब ३८ करोड ६० लाख सात हजार ३०९ रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ४० दशमलव ३२ प्रतिशत हो। दोस्रो स्थानमा रहेको पेट्रोल आयातबाट एक अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० रुपैयाँ अर्थात् १९ दशमलव ७३ प्रतिशत राजस्व प्राप्त भएको छ। यसरी डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत योगदान रहेको तथ्यांकले देखाएको छ।

त्यसैगरी खाना पकाउने ग्यासबाट ३४ करोड ८२ लाख ३५ हजार ६६८ रुपैयाँ, कागज तथा पेपरबोर्डबाट ३६ करोड ९८ लाख ६१ हजार १३८ रुपैयाँ, दालमोठ, पापड र भुजियालगायतका वस्तुबाट करिब १० करोड रुपैयाँ, फुड सप्लिमेन्टबाट नौ करोड नौ लाख ६ हजार ९८५ रुपैयाँ, पेट्रोलियम बिटुमिनबाट आठ करोड ७७ लाख ८७ हजार ५६ रुपैयाँ, तोरीबाट सात करोड ३९ लाख ८६ हजार २३८ रुपैयाँ, एभिएसन टर्बाइन इन्धनबाट पाँच करोड ५३ लाख ३२ हजार ९४० रुपैयाँ तथा बेकरीजन्य वस्तुको आयातबाट पाँच करोड १४ लाख ८८ हजार ८८९ रुपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस