सुनसरीको देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, सुरक्षा व्यवस्था थप कडा
काठमाडौँः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि बुधबार बिहानैदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ। घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देवानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो।
आइतबार राति भएको झडपपछि तनाव बढ्दै गएपछि बुधबार बिहानदेखि सेनाले प्रभावित क्षेत्रमा हवाई निगरानी गरिरहेको छ। त्यससँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी तथा गस्तीलाई तीव्र बनाएका छन्।
आइतबारको घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन तथा तोडफोडका घटना भएका थिए। त्यसपछि सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठ्न थालेकाले सम्बन्धित निकायले निगरानी बढाउँदै हवाई गस्तीसमेत सञ्चालन गरेको जनाएको छ।
यसैबीच, देवानगञ्ज गाउँपालिकाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश अझै कायम रहेको छ। सुरक्षा निकायले स्थानीयलाई कर्फ्युको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन्।