मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।