मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबीच छलफल
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबीच शनिबार प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ।
भेटमा पछिल्लो समय सुनसरी, सिराहालगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको थियो।
मुख्यमन्त्री शाहले मनसुनका कारण हुनसक्ने सम्भावित विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले गरिरहेको पूर्वतयारीबारे प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए। उनले यस विषयमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे समेत जानकारी गराएको जनाइएको छ।
भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, सम्भावित जोखिमको पूर्वतयारी तथा प्रदेशको विकासका विषयमा समेत आपसी छलफल भएको थियो।