सिन्धुलीमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता
काठमाडौँः सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ। दुर्घटनामा कार चालकसहित चार जना बेपत्ता भएका छन्।
साउन १८ गते बिहान करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङ हुँदै खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग, यान्त्रिक कार्यालय मुल्कोटअन्तर्गतको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।
बस फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङले चलाएका थिए। कार सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामाले चलाएका थिए।
ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार, कार चालक दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ निवासी धुर्ब थापाका करिब २७/२८ वर्षीय छोरा गणेश थापा तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।
बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।